स्वास्थ्य मन्त्रालयद्वारा अनुमति बिना एम्बुलेन्स सेवा संचालन ‘अवैध’, अनुमति लिन आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुमति लिएर मात्र एम्बुलेन्स सेवा दिन निर्देशन दिएको छ। मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै देशभर सञ्चालनमा रहेका धेरैजसो एम्बुलेन्सहरू हालसम्म पनि अनुमति नलिई सञ्चालन भैरहेको पाइएको भन्दै मन्त्रालयले अनुमति लिन आग्रह गरेको हो। स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईअन्तर्गतको राष्ट्रिय एम्बुलेन्स व्यवस्थापन समितिको २०८२ जेठ ३० गते बसेको बैठकले एम्बुलेन्सहरूले अनिवार्य रूपमा संचालन अनुमति लिनुपर्ने निर्णय गरेको थियो। अनुमति प्राप्त गर्नका लागि जीपीएस प्रणाली जडान गरिएको हुनुपर्ने,  प्रेषण केन्द्र प्रणालीमा अनिवार्य आबद्धता, राजश्व छुट लिएको जिल्लामै सेवा दिइरहेको हुनुपर्ने र चारचक्के सवारी हुनु पर्ने मापदण्ड राखिएको छ। वर्ग, रङ, उपकरण तथा चालकको तालिम पूरा भएको हुनु पर्ने र राजश्व छुटको सिफारिस गर्दा  पनि राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ को दफा १३ को खण्ड (ञ)  बमोजिम प्रदेश सिफारिस पत्रमा यसअगाडि छुट लिएको र नलिएको स्पष्ट खुलाउनुपर्ने उल्लेख छ। स्वास्थ्य मन्त्रालयले सबै एम्बुलेन्स सञ्चालक, सम्बन्धित निकाय तथा सेवा प्रदायकहरूलाई यथाशीघ्र आवश्यक अनुमति लिई कानुनी रूपमा सेवा संचालन गर्न अनुरोध समेत गरेको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

    ताजा अपडेट

    सम्बन्धित समाचार