देशका विभिन्न भागहरूमा कोरोना भाइरस संक्रमणको संख्या बढ्न थालेपछि, स्वास्थ्य अधिकारीहरूले दीर्घरोगी तथा प्रतिरोध क्षमता कमजोर भएका व्यक्तिहरूलाई बूस्टर खोप दिने तयारी गरिरहेका छन्।
महामारी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जोखिममा रहेका समूहलाई कोरोना खोप दिने विषयमा सरोकारवालासँग छलफल भइरहेको छ।
“हामीले राष्ट्रिय खोप सल्लाहकार समितिसँग र अन्य सरोकारवालासँग वृद्धवर्ग तथा प्रतिरक्षा प्रणाली कमजोर भएका व्यक्तिहरूलाई कोरोना खोप दिने विषयमा छलफल गरेका छौं,” महाशाखाका निर्देशक डा. चन्द्र भाल झाले बताउनुभयो। “हाम्रोमा हाल करिब ६ लाख डोज कोरोना खोप मौज्दातमा छ, जसलाई जोखिम समूहलाई बूस्टर खोपका रूपमा प्रयोग गर्न सकिन्छ।”
हाल काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना खोप दिइँदैछ।
हालै देशका विभिन्न जिल्लामा कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढिरहेको छ। गत मंगलबार एक जना संक्रमितको मृत्यु भएको पुष्टि भएको थियो, जुन विगत दुई वर्ष यताकै पहिलो मृत्यु हो। यसले नयाँ भेरियन्टहरू पुनः समुदायमा फैलिन थालेको संकेत दिन्छ।
महाशाखाका अनुसार, यस वर्ष जनवरीदेखि हालसम्म कम्तिमा २२१ जना संक्रमित भेटिएका छन्।
देशका सातै प्रदेशमा संक्रमण पुष्टि भएको छ। बागमती प्रदेशमा सबैभन्दा बढी १७० जना संक्रमित भेटिएका छन्। त्यसपछि सुदूरपश्चिममा २१, कोशीमा १२, मधेसमा ८, लुम्बिनीमा ५, गण्डकीमा ४ र कर्णालीमा १ जना संक्रमित भेटिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओमिक्रोन भेरियन्टका विभिन्न उपप्रकारहरू देशभर फैलिएको पुष्टि गरेको छ।
हालै संक्रमित व्यक्तिहरूका १४ वटा स्वाब नमूनामा गरिएको जिनोम सिक्वेन्सिङमा सबैमा ओमिक्रोनका उपप्रकार फेला परेका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार, ती मध्ये ७ नमूनामा XFG, ५ नमूनामा XFG.3 र २ नमूनामा JN.1 भेरियन्ट भेटिएका छन्।
भारतमा पनि अहिले यही XFG र XFG.3 भेरियन्ट प्रमुख रूपमा फैलिरहेका छन्।
NB.1.8.1 उपप्रकार भने कुनै पनि नमूनामा देखिएको छैन।
स्वास्थ्य विज्ञहरूका अनुसार हाल देखा परिरहेका ओमिक्रोनका यी नयाँ उपप्रकारहरू अघिल्ला भेरियन्टहरूजस्तो प्राणघातक नभए पनि वृद्ध र प्रतिरक्षा प्रणाली कमजोर भएका व्यक्तिहरूका लागि गम्भीर जोखिम हुन सक्छ।
महाशाखाका अनुसार, अन्तर्राष्ट्रिय स्थलसीमामा र विमानस्थलहरूमा स्थापना गरिएका स्वास्थ्य डेस्कहरूमा स्क्रीनिङ गर्नका लागि हाल २,००० वटा द्रुत परीक्षण (RDT) किट खरिद गरिएको छ। ती डेस्कहरूमा कार्यरत स्वास्थ्यकर्मीहरूले ज्वरो, खोकी, घाँटी दुख्ने जस्ता लक्षण देखिएका व्यक्तिहरूमाथि परीक्षण गर्नेछन्।
“आवश्यक परे थप किट पनि खरिद गरिनेछ,” डा. झाले बताउनुभयो। “हामीले विश्व स्वास्थ्य संगठनसँग पनि परीक्षण किटको माग गरेका छौं।”
यसैबीच, साउदी अरबबाट फर्किएका मंकीपक्स (Mpox) संक्रमित एक जना श्रमिक पूर्ण रूपमा निको भई अस्पतालबाट डिस्चार्ज भएका छन्।
स्रोत : thekathmandupost