स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत आठ गम्भीर रोगमा उपचार सहायता दोब्बर, अब रु. २ लाखसम्म पाउने

नेपालको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध व्यक्तिहरू अब अघिल्लो भन्दा दोब्बर उपचार सहायता पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले यो घोषणा गरेका हुन्। मन्त्री पौडेलले आफ्नो अघिल्लो प्रतिबद्धताअनुसार अब आठ प्रकारका गम्भीर रोगहरू भएका बिरामीहरूले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत रु. २ लाखसम्मको उपचार सुविधा प्राप्त गर्ने बताएका छन्। यसअघि यो सीमा रु. १ लाख मात्र थियो। बुधबार बिहान सामाजिक सञ्जालमार्फत मन्त्री पौडेलले लेखेका छन्, “गम्भीर रोगका कारण उपचार खर्च थेग्न नसकेर नागरिकले दुःख पाउन नपरोस् भनेर हामीले श्रावण १ गतेदेखि आठ प्रकारका रोगहरूमा लागेका बिरामीहरूलाई स्वास्थ्य बीमाबाट रु. २ लाखसम्मको उपचारको व्यवस्था गरेका छौं।”

उनका अनुसार यो सुविधा क्यान्सर, मुटु रोग, मिर्गौला रोग, टाउको चोट, मेरुदण्ड चोट, सिकलसेल एनेमिया, पार्किन्सन्स रोग र अल्जाइमर्स रोग भएका बिरामीहरूका लागि लागू हुनेछ। यसअघि मन्त्री पौडेलले यी आठ प्रकारका गम्भीर अवस्थाका बिरामीहरूको उपचार सहायता वृद्धि गर्ने नीति लिने प्रतिबद्धता गरेका थिए।

यहीअनुसार मन्त्रालयले स्वास्थ्य बीमा बोर्डलाई पत्राचार गरी नयाँ व्यवस्था लागू गर्न अनुरोध गरेको थियो। स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले मंगलबार राति बसेको बोर्ड बैठकले ती आठ रोगहरूमा लागेका बिरामीहरूका लागि रु. २ लाख उपचार सहायता दिने निर्णय गरेको जानकारी दिए। उनका अनुसार श्रावण १ गतेदेखि यो निर्णय लागू हुनेछ। यसअघि मन्त्री पौडेलले स्वास्थ्य बीमाका सदस्यहरूलाई आफ्नै स्थानीय स्वास्थ्य संस्थाबाट उपचार पाउने र बीमा सेवालाई सबै तहमा पुर्‍याउने नीति निर्णय पनि गरेका थिए। पौडेलले भने, “हामी निरन्तर रूपमा स्वास्थ्य बीमा प्रणालीलाई परिमार्जन गर्दैछौं र जनसाधारणका लागि पहुँच बढाउँदैछौं।” साथै, “हामी तपाईंहरूको रचनात्मक सुझाव, आलोचना र प्रतिक्रियालाई सधैं स्वागत गर्छौं,” उनले उल्लेख गरेका छन्।

स्रोत : NepalNews

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

    ताजा अपडेट

    सम्बन्धित समाचार