लिभरपुलमा मिजल्सबाट बालकको मृत्यु

लिभरपुलको एल्डर हे चिल्ड्रेन अस्पतालमा मिजल्स (खोपे रोग) बाट संक्रमित एक बालबालिकाको मृत्यु भएको बीबीसीले पुष्टि गरेको छ। अत्यधिक संक्रामक भाइरसका कारण गम्भीर रूपमा अस्वस्थ भएका बालबालिकाहरूको संख्या बढ्दो छ, जसका कारण हालसालै धेरै बालबालिकालाई अस्पताल भर्ना गरिएको छ।

अस्पतालले बिरामीको गोपनीयताको कारण मृतकको बारेमा औपचारिक टिप्पणी नगरे पनि बालबालिकाको मृत्युको पुष्टि गरेको छ। बालक अन्य स्वास्थ्य समस्याको उपचारमा थिए वा थिएनन् र उनलाई खोप लगाइएको थियो वा थिएन भन्नेबारे कुनै विवरण सार्वजनिक गरिएको छैन। रिपोर्टअनुसार, एल्डर हे अस्पतालमा जून महिनादेखि अहिलेसम्म कम्तीमा १७ बालबालिकामा मिजल्सको उपचार गरिएको छ।

यो बालक पछिल्ला १० वर्षमा मिजल्सका कारण बेलायतमा मृत्यु हुने दोस्रो बालबालकाको रूपमा विश्वास गरिएको छ। यसअघि सन् २०२३ मा ग्रेटर म्यानचेस्टरको स्याल्फोर्डमा बसोबास गर्ने १० वर्षीया रेनी आर्चरको मिजल्सकै कारण मृत्यु भएको थियो।

एल्डर हे चिल्ड्रेन एनएचएस फाउन्डेसन ट्रस्टका प्रवक्ताले भने, “बिरामीको गोपनीयताको सम्मान गर्दै हामी व्यक्तिगत घटनामा टिप्पणी गर्न सक्दैनौं। हामी बालबालिका र युवाहरूमा बढ्दो मिजल्स संक्रमणप्रति गम्भीर रूपमा चिन्तित छौं। मिजल्स अत्यन्तै संक्रामक भाइरल रोग हो जसले गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ र दुर्लभ अवस्थामा मृत्यु पनि हुन सक्छ।”

अस्पतालले यसै हप्ता अभिभावकहरूलाई चेतावनी दिएको थियो कि एमएमआर (मिजल्स, मम्प्स, रूबेला) खोपको घट्दो दरकै कारण क्षेत्रभर मिजल्स संक्रमणको जोखिम बढेको हो। प्रमुख नर्स नाथन एस्क्युका अनुसार, “यो खोप ५० वर्षभन्दा बढी समयदेखि प्रयोगमा आएको हो, र यो पूर्ण रूपमा सुरक्षित र परीक्षण गरिसकिएको हो।”

अस्पतालमा हाल उपचाररत केही बालबालिकाहरू अन्य दीर्घरोग वा स्वास्थ्य समस्याका कारण कमजोर प्रतिरक्षा प्रणाली भएका छन्, जसले गर्दा उनीहरू मिजल्सजस्ता संक्रमणका लागि अझ संवेदनशील बनेका छन्।

स्रोत: BBC News

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

    ताजा अपडेट

    सम्बन्धित समाचार