अमेरिकाका करिब ९० प्रतिशत आइसक्रिम उत्पादनकर्ताहरूले आगामी तीन वर्षभित्र आफ्ना उत्पादनहरूबाट कृत्रिम रंगहरू हटाउने प्रतिबद्धता व्यक्त गरेका छन्, संघीय स्वास्थ्य अधिकारीहरूले सोमबार जानकारी दिएका छन्। यो कदम ट्रम्प प्रशासनको आह्वानअनुसार स्वास्थ्य प्रभावबारेको चिन्तालाई ध्यानमा राख्दै खाद्य उत्पादकहरूद्वारा लिइएको पछिल्लो स्वेच्छिक प्रयास हो। पछिल्ला हप्ताहरूमा नेस्ले, क्राफ्ट हाइन्ज र जनरल मिल्सजस्ता कम्पनीहरूले पनि आफ्ना खाद्य वस्तुहरूबाट कृत्रिम रंग हटाउने बताएका छन्। “यो अमेरिकाको स्वास्थ्यका लागि पुनर्जागरणको क्षण हो,” अमेरिकी खाद्य तथा औषधि प्रशासन (FDA) का आयुक्त मार्टी माकारीले पत्रकार सम्मेलनमा भने।
इंटरनेशनल डेरी फूड्स एसोसिएसनका अध्यक्ष माइकल डाइक्सका अनुसार करिब ४० वटा आइसक्रिम तथा फ्रोजन डेरी उत्पादन कम्पनीहरूले सन् २०२८ सम्म सातवटा पेट्रोलियमबाट बनेका रंगहरू (Red 3, Red 40, Green 3, Blue 1, Blue 2, Yellow 5 र Yellow 6) हटाउने जनाएका छन्। यद्यपि, समूहले सबै कम्पनीको नाम खुलाएको छैन। तर, टर्की हिल डेरीका प्रमुख कार्यकारी एन्डी ज्याकब्सले पत्रकार सम्मेलनमा सहभागिता जनाए।
टेक्सास विश्वविद्यालयकी पोषण विशेषज्ञ डिएना होल्स्चरले भने, “कृत्रिम रंगबारे ध्यान केन्द्रित गर्नु राम्रो कदम हो,” तर आइसक्रिममा पाइने चिनी र सैचुरेटेड फ्याटजस्ता प्रमुख कारणहरूलाई बेवास्ता गर्नु हुँदैन। “सिर्फ रंग परिवर्तन गर्नु वा हटाउनु मात्रैले यो स्वास्थ्यवर्द्धक बन्ने होइन। यो त्यस्तो खाद्य वस्तु हो जुन सीमित मात्रामा खानुपर्छ,” उनले भनिन्। यद्यपि, माकारीले यसै वर्ष सार्वजनिक हुने नयाँ संघीय आहार निर्देशिकाहरूले सैचुरेटेड फ्याट र मुटु रोगबीचको परम्परागत सम्बन्धलाई चुनौती दिन सक्ने संकेत दिएका छन्। उनले यसलाई “७० वर्षदेखि चलिरहेको प्राकृतिक सैचुरेटेड फ्याटको निन्दा” को अन्त्य हुने बताए। IDFA का अनुसार, औसत अमेरिकीले वार्षिक चार ग्यालोन आइसक्रिम उपभोग गर्छन्।
स्वास्थ्यसम्बन्धी वकालतकर्ताहरूले लामो समयदेखि कृत्रिम रंग हटाउन आग्रह गर्दै आएका छन्। केही अनुसन्धानहरूले यी रंगहरूले केही बालबालिकामा सक्रियता र ध्यानसम्बन्धी समस्या उत्पन्न गर्न सक्ने देखाएका छन्। FDA ले भने, स्वीकृत रंगहरू सुरक्षित छन् र “धेरैजसो बालबालिकामा कुनै प्रतिकूल असर देखिँदैन” भनेको छ। स्वास्थ्य सचिव रोबर्ट एफ. केनेडी जुनियरले कृत्रिम रंगप्रति आलोचना गर्दै खाद्य कम्पनीहरूलाई तिनीहरू हटाउन दबाब दिएका छन्। उनीहरूलाई फलफूलको रस, वनस्पति निष्कर्षजस्ता प्राकृतिक स्रोतबाट बनेका रंगहरू प्रयोग गर्न प्रोत्साहन दिइएको छ।
FDA ले हालै केही नयाँ प्राकृतिक रंगहरूलाई स्वीकृति दिएको छ, जसमा सोमबार घोषणा गरिएको गार्डेनियाको फलबाट निकालिएको नीलो रंग पनि सामेल छ। गार्डेनिया (जेनिपिन) ब्लू खेलकुद पेय, क्यान्डी र अन्य केही खाद्य वस्तुहरूमा प्रयोग गर्न स्वीकृत छ। माकारीले सोमबार खाद्य उत्पादकहरूलाई पत्र लेख्दै Red 3 नामक रंगको प्रयोग शीघ्र हटाउन “प्रोत्साहन” दिएका छन्। यस रंगलाई जनवरीमा प्रतिबन्ध गरिएको थियो। यो रंगले प्रयोगशालाका मुसामा क्यान्सर गराएको देखिए पनि मानिसमा भने त्यस्तो प्रमाण भेटिएको छैन। खाद्य कम्पनीहरूलाई २०२७ सम्ममा यो रंग हटाउन भनिएको छ। तर, केही उपभोक्ता अधिकार समूहले स्वेच्छिक निर्णयहरूमा भर पर्नु उचित नभएको चेतावनी दिएका छन्। सेन्टर फर साइन्स इन द पब्लिक इन्टरस्टका वैज्ञानिक थोमस ग्यालिगनले भने, “बोल्ने त सजिलो हो। कम्पनीहरूले राम्रो देखिन र ट्रम्प प्रशासनको समर्थन पाउन सजिलै प्रतिबद्धता जनाउँछन्, तर साँच्चै त्यसलाई कार्यान्वयन गर्छन् कि गर्दैनन् भन्ने कुरा हेर्न बाँकी छ।”
स्रोत : एसोसिएटेड प्रेस (AP)