एण्टिमाइक्रोबियल रेजिस्टेन्स (AMR) आँखाले देखिन्न, तर यसको जोखिम वास्तविक र दिनप्रतिदिन बढ्दो छ। नेपालभर एक शक्तिशाली युवा लहर यो विश्वव्यापी स्वास्थ्य संकटको प्रतिकारमा सक्रिय रूपमा जुटिरहेको छ। तालिम, प्रतिबद्धता र उत्तरदायित्वको भावना बोकेका युवाहरू विद्यालय, घर र डिजिटल मञ्चहरूमा पुगेर जनचेतना अभिवृद्धि र व्यवहारमा परिवर्तन ल्याउने प्रयासमा जुटिरहेका छन्। ग्लोबल र नेशनल एक्सन प्लानअनुसार, विश्व स्वास्थ्य संगठन (WHO) र NYMAT नेपालले सेप्टेम्बर २०२४ मा राष्ट्रव्यापी युवा नेतृत्वयुक्त अभियान सुरु गरे, जसले देशभर ३०,००० भन्दा बढी व्यक्तिहरूमा पहुँच पुर्यायो।
१८–२४ वर्ष उमेर समूहका २७५० युवाहरू सहभागी भएको उक्त अभियानमा १८१२ जनाले OpenWHO र FAO द्वारा सञ्चालित AMR सम्बन्धी आधारभूत कोर्स पूरा गरे। त्यसपछि WHO नेपालद्वारा सञ्चालन गरिएको प्रविधिक सत्रमा ८०० भन्दा बढी सहभागीले प्रमाणाधारित ज्ञान प्राप्त गरे। प्रशिक्षण पश्चात्, ती युवाहरू विद्यालय, समुदाय र परिवारहरूमा जनचेतनामूलक गतिविधिमा परिचालित भए। देशभर ५३२ वटा विद्यालय कार्यक्रममार्फत २२,००० भन्दा बढी विद्यार्थीलाई अन्तरक्रियात्मक सत्रमार्फत AMR को जोखिम र एन्टिबायोटिकको दुरुपयोग रोक्न सकिने उपायबारे सिकाइएको थियो।
यससँगै, करिब ५०० वटा “डिनर टेबल डिस्कसन” गरिए, जसले करिब २५०० परिवार सदस्यलाई असर पुर्यायो। युवाहरूले मानव, पशु तथा कृषि क्षेत्रमा एन्टिमाइक्रोबियलको जिम्मेवार प्रयोगसम्बन्धी संवाद घरमै सुरु गरे। अनलाइन मञ्चहरूमा १५०० भन्दा बढी सामाजिक सञ्जाल पोस्ट, ४५० डिजिटल पोस्टर तथा ५२ दिनसम्म दैनिक क्विज श्रृंखलाले ४.४ मिलियन प्रयोगकर्तासम्म सन्देश पुर्यायो। अभियानले ४५ वटा पीयर डिस्कसनहरू समेत सञ्चालन गरी युवाबीच अनुभव आदानप्रदान र संवादको माध्यम तयार गर्यो।
अभियानले केवल चेतनामा मात्र होइन, प्रणालीगत परिवर्तनमा समेत ध्यान केन्द्रित गर्यो। ४०० भन्दा बढी सरोकारवालासँग प्रत्यक्ष सम्वाद गर्दै (स्वास्थ्यकर्मी, पशु चिकित्सक, शिक्षक, कृषक, नीति निर्माता), यो प्रयासले बहु-क्षेत्रीय सहकार्यलाई बलियो बनायो। दीर्घकालीन प्रभावका लागि, NYMAT नेपालले National Youth Coalition Against AMR (NYC-AMR) को सहकार्यमा सातै प्रदेशमा २८ वटा AMR क्लब र ३ वटा नेटवर्क स्थापना गर्यो। WHO नेपालका प्रतिनिधि डा. राजेश सम्भाजीराव पाण्डवका अनुसार, यो अभियानले हजारौं विद्यार्थी, परिवार र समुदायमा पुगेर सूचित र जमीनी तहबाट सुरु भएको जनचेतनाको शक्ति देखाएको छ।
यही अभियानका एक सहभागी, रामेछापका २२ वर्षीय स्वास्थ्य सहायक अनिल मानन्धरले बताए, “चिकित्सा अध्ययन गर्दा मैले क्लिनिकहरूमा एन्टिबायोटिकको अत्यधिक प्रयोग देखेँ। OpenWHO को कोर्सले मेरो बुझाइलाई गहिरो बनायो र One Health अवधारणा बुझ्न सहयोग गर्यो। यसले मेरो स्वास्थ्य सेवा अभ्यास नै परिवर्तन गरिदियो।” अर्का सहभागी २४ वर्षीय फार्मेसी विद्यार्थी अरुण कुमार शाहले भने, “अभियानमा सामेल भएपछि मैले परिवारसँग डिनर टेबल डिस्कसन गर्दा नै औषधिको प्रयोगमा परिवर्तन देखेँ, जसले जनस्तरको सचेतनाको ठोस प्रभाव देखायो।” यो WHO AMR फ्लेमिङ फन्डद्वारा सहयोग प्राप्त अभियानले देखाएको छ कि सही उपकरण, ज्ञान र विश्वासका साथ युवाहरू जनस्वास्थ्यका लागि प्रभावशाली परिवर्तनकर्ता बन्न सक्छन्।
स्रोत: WHO