



सप्तरी । राजविराज नगरपालिका–६ करेन्ट लागेर एकै परिवारका चार जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आफ्नै घरका छतमा झुण्डिएको होडिङ बोर्ड हटाउने क्रममा करेन्ट लाग्दा ४० वर्षीय शिवनारायण साह सहित उनका ३५ वर्षीया पत्नी सन्तोषी साह, ३८ वर्षीया भाउजु राजकुमारी साह र १८ वर्षीय भतिजो रक्षित साह घाइते भएका हुन् ।
प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले घाइतेको गजेन्द्रनारायणसिंह अस्पतालमा उपचार भइरहेको र घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।
अविरल वर्षासँगै जिता खोलामा आएको बाढीले हनुमाननगर कङ्कालिनी नगरपालिका– १४ बाट खोला तर्ने क्रममा बेपत्ता एक युवक अझै भेटिएका छैनन् । हनुमाननगर कङ्कालिनी–९ का २३ वर्षीय लालु मण्डल बेपत्ता भएको र उनको खोजी जारी रहेपनि प्रनाउ काफ्लेले जानकारी दिए ।
बुधबार कङ्कालिनी –१४ बैरिया घाटस्थित रहेको जिता खोलाको भत्केको पुलबाट रम्पुरा मल्हनियातर्फ जाने क्रममा खोलाले उनलाई बगाएको थियो । त्यस्तै मण्डलसँगै खोलामा बगेका सोही ठाउँका २८ वर्षीय सञ्जीवकुमार मण्डल भने खोला तरेर कटानबाट बच्न सफल भएको जनाइएको छ ।
दुई/तीन दिन लगातारको अविरल वर्षाका कारण जिल्लाको विभिन्न खोलमा आएको बाढीले १५० घर डुबानमा परेका छन् । वर्षासँगै आएको बाढीले जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–३ स्थित सकरपुरा टोल जाने मुख्य सडकको करिब १५ मिटर भाग बगाउँदा आवतजावतमा समस्या भएको गाउँपालिकाको विपद् व्यवस्थापन अधिकृत राजेश झाले जानकारी दिए ।
उनले भने, “तिलाठी कोइलाडी–५ स्थित बर्साइनमा जिता नदीको बाढीले बाँध भत्काउँदा ५० घर डुबानमा परेका छन् । स्थानीय राष्ट्रिय प्राथमिक विद्यालयमा पनि पानी पसेको छ ।” सोही गाउँपालिकाकै– ४ कोइलाडीस्थित भीमा नदीको बाढीले समेत पुलको दक्षिणतर्फको विङवालमा क्षति पुगेको छ । सो वडाको चट्टी टोल, तेलियारीमा समेत जिता नदीको बाढी पसेको जानकारी दिँदै बाढीका कारण यहाँ भएको झोलुङ्गे पुलबाट आवतजावत गर्न समस्या उत्पन्न भएको बताए ।
तिलाठी कोइलाडी –८ तोपास्थित उत्तरतिरको टोलमा समेत पानी पसेर घर डुबान भएको बताइएको छ । यस्तै हनुमाननगर कङ्कालिनी र राजविराज नगरपालिका क्षेत्र समेत डुबानमा परेको पाइएको छ । सो क्षेत्रमा रहेका नदी तथा खोलामा आएको बाढी बस्तीमा बाढी पस्दा बस्ती नै जलमग्न भएका छन ।
हनुमाननगर कङ्कालिनी–३ पोर्ताहास्थित महुली खोलाको बाढीले महुली पुलदेखि पूर्व करिब २० मिटर बाँध भत्काएर बाढी बस्तीमा पस्दा २५ घर डुबानमा परेको छ । सदरमुकाम राजविराज नगरपालिकाको विभिन्न वडामा बाढी र वर्षाको पानीले डुबान गरेको छ ।
राजविराजस्थित सरकारी वकील कार्यालय, जिल्ला अदालतसहितका कार्यालयमा पानी पसेको छ भने सिरहा रोड, खर्साल टोलसहितका ठाउँमा बाढीको भेल बगिरहेको छ । निरन्तरको वर्षाले आएको बाढीले सप्तरीमा आठ चौपाया बगाएको छ । प्रहरीका अनुसार सप्तकोशी नगरपालिका– ९ स्थित कोसी टप्पु वन्यजन्तु आरक्षमा गाईबस्तु चराएर फर्किने क्रममा पौडाहा खोलामा आएको बाढीले ती चौपाया बगाएको हो ।
– रासस
समाचार
हड्डीहरूको मजबुतीका लागि ८ खाद्य वस्तुहरू
स्वास्थ्य समस्याहरूको रोकथाममा फिटनेस र खानपानको महत्त्व
डिहाइड्रेशनबाट बच्नका लागि पानी पिउने सही तरिका
किशोरावस्थामा स्वस्थ जीवनशैली अपनाउनका लागि टिप्स
आँखाको स्वास्थ्य सुधार्नका लागि १० सजिला उपायहरू
पुराना समस्याका लागि प्राकृतिक औषधिहरूको प्रयोग
मानसिक स्वास्थ्यलाई सुधार गर्नका लागि ५ सरल उपाय
बच्चाहरूको पोषण र स्वस्थ विकासका लागि महत्त्वपूर्ण टिप्स
जाडो मौसममा ताजगी र स्वास्थ्यको रक्षा गर्ने उपायहरू
महिलाहरूको स्वास्थ्यको लागि ७ महत्वपूर्ण सुझावहरू