प्रवासी श्रमिकको स्वास्थ्य सुरक्षामा नेपाल सरकारको अन्तर्राष्ट्रिय पहल

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रवासी श्रमिकहरूको स्वास्थ्य र सुरक्षासम्बन्धी नेपाल सरकारको प्रस्तावलाई अन्तर्राष्ट्रिय समर्थन जुटाउन उच्चस्तरीय अन्तर्राष्ट्रिय संवाद सुरु गर्नुभएको छ। यो प्रस्ताव नेपाल सरकारको तर्फबाट हालै सम्पन्न विश्व स्वास्थ्य सभा (मे १८ देखि २७ सम्म) मा पेश गरिएको हो।

विश्व स्वास्थ्य संगठन (WHO) को कार्यकारी बोर्डको सदस्य राष्ट्रका रूपमा नेपालले आगामी संयुक्त राष्ट्रसंघीय महासभा (UNGA) मा पनि उक्त एजेन्डालाई अगाडि बढाउने तयारी गरिरहेको छ।

यसै सन्दर्भमा मन्त्री पौडेलले थाइल्याण्डको बैंककस्थित संयुक्त राष्ट्रसंघीय सम्मेलन केन्द्रमा WHO दक्षिण–पूर्वी एसिया क्षेत्रकी क्षेत्रीय निर्देशक साइम वाजेदसँग भेटवार्ता गर्नुभएको थियो। सो अवसरमा उहाँले भन्नुभयो, “हाल वैदेशिक रोजगारमा रहेका नेपाली कामदारहरूको संख्या ठूलो छ। उनीहरूको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्नु हाम्रो राष्ट्रिय प्राथमिकता हो।”

क्षेत्रीय निर्देशक वाजेदले नेपाल सरकारको पहललाई स्वागत गर्दै यसमा अन्तर्राष्ट्रिय समर्थन प्राप्त होस् भन्ने आशा व्यक्त गर्नुभयो। साथै, उक्त एजेन्डालाई अघि बढाउन समन्वयकारी भूमिका खेल्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

नेपालले विश्व स्वास्थ्य सभामा पेश गरेको प्रस्तावअनुसार सम्पूर्ण कामदारहरूको स्वास्थ्य र सुरक्षाको जिम्मेवारी रोजगारदाताले वहन गर्नुपर्ने व्यवस्था हुनुपर्ने उल्लेख गरिएको छ। आगामी विश्व स्वास्थ्य सभाको अधिवेशनमा पनि नेपालले यस प्रस्तावलाई दृढतापूर्वक प्रस्तुत गर्ने तथा पैरवी गर्ने प्रतिबद्धता जनाएको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

    ताजा अपडेट

    सम्बन्धित समाचार