अत्यधिक हल्दी सेवनले ५७ वर्षीया महिलालाई गम्भीर लिभर क्षति: सप्लिमेन्टको जोखिमबारे चेतावनी

एक महिलालाई लोकप्रिय जडीबुटी सप्लिमेन्ट अत्यधिक मात्रामा सेवन गरेपछि अस्पताल भर्ना गर्नु पर्‍यो र उनले लिभर ट्रान्सप्लान्टको नजिक पुगेर ज्यान जोगाइन्। न्यु जर्सी निवासी ५७ वर्षीया केटी मोहनले सामाजिक सञ्जालमा हड्डी र सूजनका लागि लाभदायक भनिएको देखेर हल्का दुखाइका लागि हल्दी (turmeric) को क्याप्सुल सेवन गर्न थालेकी थिइन्। तर राहतको सट्टा, उनले भनेकी छन्, “म सामान्य रूपमा अस्वस्थ महसुस गरिरहेकी थिएँ।” NBC News सँगको अन्तर्वार्तामा मोहनले भनिन्, “म धेरै पानी पिउँथेँ, तर पिसाब गाढा थियो।” उनले छालामा पहेँलो पन देखेकी थिइन्, जुन जन्डिस को संकेत हो र यसले लिभरमा समस्या भएको जनाउँछ। NBC को एक रिपोर्टमा सप्लिमेन्टको खतरा देखेपछि उनले भनिन्, “त्यसपछि मेरो दिमागमा बत्ती बल्यो, अनि मैले सोचेँ, ‘हे भगवान! कतै यिनैले त मलाई बिरामी बनाएका होइनन्?’” अमेरिकी खाद्य तथा औषधि प्रशासन (FDA) ले सप्लिमेन्टलाई औषधिजस्तै नियमन गर्दैन, र यीमा हानिकारक अन्य पदार्थ पनि मिसिएको हुनसक्ने Harvard Health ले बताएको छ। उदाहरणका लागि, पिसेको हल्दीमा सिसा (lead) मिसिएको पाइएपछि यसले स्वास्थ्यमा गम्भीर असर पार्ने खतरा देखिएको छ। सामान्य रूपमा हल्दी सुरक्षित मानिए पनि, उच्च मात्रा सेवन गर्दा पेट दुख्ने, वाकवाकी लाग्ने र पातलो पखाला लाग्ने समस्या देखिन सक्छ।

Harvard Health ले सुझाएको सुरक्षित मात्रा भनेको ५०० मि.ग्रा. को दुई क्याप्सुल (दैनिक अधिकतम १००० मि.ग्रा.) हो। तर मोहनले दैनिक २,२५० मि.ग्रा. सेवन गरिरहेकी थिइन् — जुन यो सिफारिसको दुई गुणाभन्दा बढी हो। “मलाई थाहा नै थिएन कि म यति चाँडो आफ्नो शरीरमा यति ठूलो नोक्सान पुर्‍याउँछु भन्ने,” उनले भनिन्। जब उनले अर्जेन्ट केयरमा उपचार लिइन्, उनको रगत परीक्षणमा लिभर इन्जाइम्स सामान्य भन्दा ६० गुणा बढी देखियो। उनलाई पहिले स्थानीय अस्पतालमा भर्ना गरियो, त्यसपछि न्यूयोर्कको NYU Langone अस्पतालमा सारियो जहाँ उनी ६ दिनसम्म IV उपचारमा रहिन्। उनकी चिकित्सकका अनुसार, “केटी पूर्ण लिभर फेल हुनु र लिभर ट्रान्सप्लान्ट गर्नुपर्ने स्थितिको एक कदम अगाडि मात्रै थिइन्।” National Library of Medicine अनुसार, अमेरिका भित्र अहिले हल्दी नै जडीबुटीजन्य लिभर क्षतिको सबैभन्दा सामान्य कारण बनेको छ। लक्षणहरूमा थकान, वाकवाकी, भोक नलाग्ने, त्यसपछि गाढा पिसाब र जन्डिस पर्न सक्छ। NBC सँग अन्तर्वार्तामा मोहनले अन्त्यमा भनिन्, “अब म जीवनभर कुनै पनि सप्लिमेन्ट आफ्नो शरीरमा हाल्दिन।”

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

    ताजा अपडेट

    सम्बन्धित समाचार