“तपाईं जुन चीज खानुहुन्छ, त्यही हुनुहुन्छ” भन्ने पुरानो उखान सही ठहरिन्छ। हाम्रो खानपानले हाम्रो स्वास्थ्य र समग्र जीवनशैलीमा ठूलो प्रभाव पार्दछ। सन्तुलित आहारले स्वस्थ जीवनशैली र रोगको रोकथामको आधार तय गर्छ। यद्यपि जैविक, सामाजिक, आर्थिक, सांस्कृतिक र जीवनशैलीका विविधताका कारण ‘सबैका लागि एउटै प्रकारको आहार’ उपयुक्त नहुन सक्छ। लिंग र उमेरले पनि खानपानको प्राथमिकता र व्यवहारमा गहिरो प्रभाव पार्दछ। विगतमा थुप्रै अध्ययनहरूमा आहार विविधता र खानेकुराहरूको आवृत्तिमाथि अनुसन्धान गरिएको भए पनि, उमेर र लिंगअनुसार आहारको नमूना र संयोजनहरूमा हुने भिन्नता भने अझै स्पष्ट छैन।
यस खालको खाडललाई पूर्ति गर्न जापानको फुजिता हेल्थ युनिभर्सिटी, मेडिकल संकायअन्तर्गतको क्लिनिकल न्यूट्रिशन विभागका प्राध्यापक कात्सुमी ईइजुका र उनको टोलीले जापानी युवा र मध्यवयस्कहरूका आहार नमूनामाथि अध्ययन गरे। “उमेर र लिंगअनुसारको आहार विविधता र ढाँचाको बुझाइले प्रत्येक समूहको लागि लक्षित पोषण सुधार गर्न मद्दत गर्छ,” प्रा. ईइजुकाले बताए। उक्त अध्ययन सन् २०२५ जुलाई २ मा Nutrients पत्रिकाको १७ औं खण्ड, १३ औं अङ्कमा प्रकाशित भएको हो।
शोधकर्ताहरूले फुजिता हेल्थ युनिभर्सिटीका २,७४३ कर्मचारीबाट स्वास्थ्य परीक्षणको क्रममा संकलन गरिएको गुप्त dietary survey डेटा विश्लेषण गरे। सहभागीहरूलाई २०–२९, ३०–३९, ४०–४९ र ५०–५९ वर्षका चार उमेर समूहमा वर्गीकृत गरिएको थियो।
खानपानको आवृत्तिबारे बुझ्न ‘Food Intake Frequency Questionnaire’ प्रयोग गरियो, जसमा मासु, माछा, अण्डा, दुग्धजन्य पदार्थ, सोया, हरियो तरकारी, साग/समुद्री शाक, फलफूल, आलु, तेल; चिनी मिसाइएको कफी वा चिया; र चिसो पेय पदार्थ, कोल्ड ड्रिङ्क तथा मदिरा सेवन कत्तिको नियमित छ भन्ने प्रश्नहरू समावेश थिए।
पहिला भएका अध्ययनहरूले विविधता सूचकांकको माध्यमबाट खाद्य सेवनको मूल्याङ्कन गरेका थिए, तर ती सूचकांकहरूले खाद्य संयोजन र ढाँचालाई पर्याप्तरूपमा प्रतिबिम्बित गर्न सकेका थिएनन्। यस अध्ययनमा, अनुसन्धानकर्ताहरूले पारिस्थितिकी शास्त्रमा सूक्ष्मजीव विविधता मापन गर्न प्रयोग गरिने नयाँ सांख्यिकीय विधिहरू अपनाए। ‘अल्फा डाइभर्सिटी’ (एकै समूहभित्रको विविधता) र ‘बेटा डाइभर्सिटी’ (विभिन्न समूहहरूबीचको विविधता) को विश्लेषणसहित बहुविवरणीय विश्लेषण गरेर उमेर र लिंगको प्रभावसमेत समेटिएको थियो।
विश्लेषणले देखायो कि पुरुष र महिलाबीच खाद्य वस्तुको सेवन आवृत्तिमा ठूलो भिन्नता थिएन, यद्यपि महिलाले फलफूल बढी सेवन गर्ने देखियो। तर उमेर र लिंगअनुसार समूह बनाएर हेर्दा, मासु, माछा, अण्डा, फलफूल, समुद्री साग, दुग्धजन्य पदार्थ, तरकारी र आलु सेवनको आधारमा आहार ढाँचामा उल्लेख्य भिन्नता देखियो। महिलाहरूको आहार ढाँचा पुरुषको तुलनामा बढी विविध देखियो। विशेषतः युवापुस्ताका पुरुषहरूमा मासु वा अण्डा केन्द्रित आहार कम प्रचलित थियो भने, वृद्ध महिलाहरूमा फलफूल र दुग्धजन्य पदार्थ मिसिएको मासु-अण्डा आधारित आहार बढी प्रचलित थियो। वृद्ध पुरुषहरूले भने माछा र बोसोयुक्त परम्परागत जापानी आहार रोज्ने देखिए, जबकि युवतीहरू फलफूल, तरकारी र आलुजस्ता बोटजन्य पदार्थप्रति आकर्षित देखिइन्। उमेर बढेसँगै पुरुष र महिलाबीचको आहार ढाँचामा देखिएको भिन्नता घट्दै गएको पाइयो। साथै, उमेरसँगै फलफूल, समुद्री साग, दुग्धजन्य पदार्थजस्ता पोषक आहारको सेवन पनि दुवै लिंगमा बढेको पाइयो। अनुसन्धानकर्ताहरूले यसलाई पुस्तागत फरकको परिणाम मानेका छन्। मध्यवयस्कहरू प्रायः परिवारसँग बस्ने हुँदा उनीहरूको आहार विविध हुन्छ भने, युवाहरू एक्लै बस्ने हुँदा सीमित र असन्तुलित आहार लिने सम्भावना बढी हुन्छ।
स्वस्थ खानेकुरा बाल्यकालदेखि नै खाने बानीले भविष्यमा स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्छ। त्यसैले कर्मचारी क्यान्टिन वा कार्यस्थलहरूमा फलफूल, समुद्री शाक र दुग्धजन्य पदार्थजस्ता पोषक तत्त्वयुक्त खाना समावेश गरिनु आवश्यक रहेको सिफारिस गरिएको छ।
समग्रमा, यस अध्ययनले उमेर र लिंगअनुसारको आहार विविधता र ढाँचा सम्बन्धी नयाँ जानकारी दिएको छ। यस जानकारीलाई भविष्यमा आन्द्रा स्वास्थ्य, सूक्ष्मजीव विविधता तथा मोटोपन, मधुमेह, मुटुरोग, क्यान्सरजस्ता रोगहरूसँग जोडेर थप अनुसन्धान गर्न सकिनेछ। साथै, पोषणविद्हरूले व्यक्तिगतरूपमा आहार सल्लाह दिन सक्ने आधार पनि तयार हुनेछ। प्रा. ईइजुकाले भनेका छन्, “यदि मानिसहरूले सानै उमेरदेखि रेशा तथा किण्वित पदार्थयुक्त खाना खान थाले भने मुटु रोग र क्यान्सरको जोखिम घटाउन सकिन्छ। पुस्ता अनुसारको आहार ढाँचाको भिन्नता देखाउने हो भने जनसाधारणले सन्तुलित र विविध आहारप्रति सजगता बढाउने सम्भावना उच्च हुन्छ।”
स्रोत: फुजिता हेल्थ युनिभर्सिटी